FLASH NEWS

‘म कतै गएको छैन,अहिलेको अवस्थालाई नजिकैबाट नियालिरहेको छु’ : पूर्व ‘श्री ५’ ज्ञानेन्द्र


नेपाल आवाज १९ पुष २०८०, बिहीबार १७:४३ मा प्रकाशित १४४१ पाठक संख्या

भैरहवा – पूर्व ‘श्री ५’ ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताउनु भएको छ ।


बिहीबार रुपन्देहीको भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व श्री ५ ले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाउनु भयो। ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उहांले भन्नु भयो, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’

तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उहांले बताउनु भयो । । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्व श्री ५ले भन्नु भयो, ‘नेपालीहरुको सुख–दु:ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उहांले बताउनु भयो। ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उहांले भन्नु भयो ।

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उहांले बताउनु भयो । आफू मात्र सही,आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्व श्री ५  ज्ञानेन्द्रले भन्नुभयो, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’

देशमै उत्पादन उद्यम, इमल सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उहांले बताउनु भयो। तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उहांले जोड दिनु भयो।

उहांले अब सबै नेपाली एकै ठाउँ उभिने बेला भएको बताउनु भयो । ‘अब हामी सबै एकै ठाउँमा उभियौं अनि सोचौँ। सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ देश हामीले नै बनाउने हो। हाम्रै श्रोतसाधन परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’,उहांले भन्नु भयो, ‘हामी मात्रै ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सु-बाटो अरुको कु-बाटो भन्ने द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।’

विगतको सबै दु:ख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व श्री ५ ज्ञानेन्द्रले भन्नुभयो, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’