FLASH NEWS

एमालेलाई रोक्न खोज्नु, सूर्यलाई छेक्न खोज्नु जस्तै हो : अध्यक्ष ओली


नेपाल आवाज १७ माघ २०८०, बुधबार १९:३४ मा प्रकाशित ७९३ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देश नबनाउने बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार देश विकासको गति रोक्न बनेको बताए।


अध्यक्ष ओलीले भने, ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि त बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर त्यो भत्काउन बनेको हो।’ एमालेले विकासको काम गरिरहको बेला त्यसलाई रोक्न गठबन्धन बनेको उनले बताए। एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताए। गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै ओलीले आलोचना गरे।

एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको अध्यक्ष ओलीले बताए। सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै अध्यक्ष ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ र दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेको ओलीको भनाइ छ।

ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै ओलीले एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने प्रष्ट पारे । ‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उनले भने।

अध्यक्ष ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताउए। धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिनुए ।

आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताए । कृषि उत्पादनलाई बजारीकरणको लागि विविधीकरण गर्नुपर्ने आवश्यकता ओलीले औँल्याए । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उनको जोड छ ।