FLASH NEWS

धरहराको भूमिगत पार्किङलाई लिएर मन्त्री गुरुङ र मेयर बालेन आमनेसामने


नेपाल आवाज २२ माघ २०८०, सोमबार २०:०४ मा प्रकाशित ८३५ पाठक संख्या

काठमाडौं – सुन्धारास्थित निर्माणाधिन धरहराको भूमिगत पार्किङलाई लिएर शहरी विकासमन्त्री सीता गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन साह आमनेसामने भएका छन् ।


काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो । न्युरोडको विकल्पमा धरहराको भूमिगत पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र पुरानो बसपार्कस्थित काठमाडौं टावरमा चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न निःशुल्क उपलब्ध गराइएको छ ।

धरहराको पार्किङ खुला भएको करिब एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायी र मन्त्रालयसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो । साथै भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको थियो ।

मेयर बालेन शाहले भने मन्त्रालयको विज्ञप्तिको जवाफ सामाजिक सञ्जालमार्फत् फर्काउँदै धरहराको भूमिगत पार्किङ बन्द नहुने बताएका छन् ।

मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्ति स्मरण गराउँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा, ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

मेयर बालेन सामाजिक सञ्जालमार्फत पार्किङ बन्द नहुने बताएपछि मन्त्री गुरुङले  महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधि विपरीत रहेको बताए ।

उनले निर्माणाधीन धरहराको काम सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जाने बताए । महानगरपालिकाले निर्माण अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।

मन्त्री गुरुङले २५० चार पाङ्ग्रे र ६ सय दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने भए पनि निर्माण सम्पन्न नभएकाले तीन तलाको बेसमेन्टमुनि अक्सिजनको अभाव, बत्ती र आगो निभाउने यन्त्र जडानलगायतका काम बाँकी रहेको बताए ।

महानगरले काम गर्नेलाई समय र वातावरण दिनुपर्ने बताउँदै उनले प्रश्न गरे, ‘पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने ?’

उद्यपी महानगरले आजै भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू जडान गरेको छ । निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।