FLASH NEWS

एमाले सरकार ढाल्ने खेलमा छैनः ओली


नेपाल आवाज २२ माघ २०८०, सोमबार २१:५९ मा प्रकाशित ९३१ पाठक संख्या

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन्।


सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेकोसमेत बताए।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियतसमेत नराखेको जिकिर गरे।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए।

उनले भने, ‘जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन। अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुँर्‍याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन। यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन। हामी मिशन २०८४ भनेका छौँ।’