FLASH NEWS

जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ: गगन थापा


नेपाल आवाज २४ माघ २०८०, बुधबार १३:३४ मा प्रकाशित ७३९ पाठक संख्या

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् ।


बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति होस्, सार्वजनिक जग्गा हडप्नेले सजाय पाउनु पर्छ ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने,’चाहे जग्गा मिच्ने होस्, सहकारी ठग्ने होस् यताको होस् कि उताको होस् दोषीले सजाय पाउनैपर्छ ।’

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् ।

गत माघ १८ गते बिहीबार पक्राउ परेका उनीहरूलाई आज छाड्न काठमाडौं जिल्ला अदालतको आदेश छ ।