FLASH NEWS

‘वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै पनि ठाउँ छैन’: नेकपा एमाले


नेपाल आवाज २४ माघ २०८०, बुधबार १६:२९ मा प्रकाशित ६१३ पाठक संख्या

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै पनि ठाउँ नरहेको आरोप लगाएको छ ।


बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट कुनै आशा गर्ने ठाउँ गुमाएकाले युवाहरू विदेश पलायन हुने क्रम बढदै गइरहेको जिकिर समेत गरे ।

उनले विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानून र नीति दिन नसकेको समेत बताए । प्रमुख सचेतक गिरीले मुलुकको अवस्था कहाली लाग्दो हुनुमा सरकार जिम्मेवार रहेको बताए ।

‘देशमा अहिले जुन खालको कहाली लाग्दो मुलुकको अवस्था छ । जनता व्यापक निराशा छाएको छ । र नेपालको राजनीतिक नेतृत्वबाट यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन । त्यही कारणले आफ्नो आत्माविश्वास गुमाएर युवाहरु देश छोडेर विदेश भाग्ने क्रम शुरु भएको छ । जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरुले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन् । त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ । यो यथार्थका जगमा उभिएर हामीले मूल्यांकन गरेनौं भने हामी सही ठाउँमा पुग्न सक्दैनौ भन्ने यथार्थलाई हामीले मान्नुपर्छ । यतिबेला हामीले समिक्षा गर्नुपर्नेछ ।’ उनले भने,’विगतमा हामीले एक वर्षसम्म पनि यस संसदबाट जनताको सरोकारको विषयहरुलाई संविधान कार्यान्वयन गर्ने सम्बन्धमा त्योसँग सम्बन्धित रहेका ऐन, कानून निर्माण गर्ने विषयहरु होस् । सुशासनका मुद्दाहरु, समृद्धिका योजनाहरु, राष्ट्रिय हितका सवालहरुमा किन नहोस् । जुन ढंंगले संसदमा सघन र घनिभुत ढंगले छलफल हामीले गर्नुपर्दथ्यो । र नेपाली जनतालाई हामीले असल नीति दिने, असल कानून दिने काममा हामी जसरी प्रभावकारी ढंगले चलाउन सक्नुपर्दथ्यो । विगतमा हामी चुक्यौं । ’

प्रमुख सचेतक गिरीले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा सरकार र संसदले विशेष ध्यान दिनुपर्ने बताए ।