FLASH NEWS

नागरिकता किर्ते गरेर ६३ लाख ठगेको आरोपमा दुई जना पक्राउ


नेपाल आवाज २५ माघ २०८०, बिहीबार ०९:२२ मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौं – ‘युरोप पठाउँछु’ भनेर दुई जना युवकले ६३ लाख रुपैयाँ ठगेका छन् । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) मिलन केसीले बताए ।


पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने राम सेवक सिंह छन् । रामेश्वरका बहिनी ज्वाइँ हुन्, २७ वर्षीय राम सेवक सिंह । ज्वाइँ र जेठान मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आफूलाई सरोज यादव र नागेन्द्र यादव भनेर चिनाउने रामेश्वरले अर्काको नामको नागरिकतामा ज्वाइँ राम सेवक सिंहको फोटो टाँसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सल्टेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चितवनमा आरोपीहरुले ‘गढिमाई कन्सल्टेन्सी’को नाममा ठगीधन्दा चलाएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले बताए । आरोपीहरुले पीडितहरुलाई ‘युरोपीयन मुलुक पठाउँछौँ र त्यहाँ जान ७ लाख लाग्छ’ भनेर लोभमा पारेका थिए । युरोपमा पुगेपछि १ लाख ५५ हजार कमाई हुने जागिर पाइन्छ भनेरपछि आफूहरूले रकम दिएको पीडितहरुले प्रहरीलाई बताएका छन् ।