FLASH NEWS

दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन


नेपाल आवाज २७ माघ २०८०, शनिबार १५:३१ मा प्रकाशित ८७७ पाठक संख्या

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन्।


हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो।

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघि जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसद्को मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे।

उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर गरे। अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको उल्लेख गरे।

अध्यक्ष थापाले आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिकता व्यवस्था कुरा गरेको पनि दोहोर्‍याए।