FLASH NEWS

नेपालय, लेवोरेटरी र सैनिक आवासीय माध्यमिक विद्यालयको जित


नेपाल आवाज २७ माघ २०८०, शनिबार २१:४६ मा प्रकाशित १३९९ पाठक संख्या

काठमाडौँ – कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका अन्तिम तीन खेल सम्पन्न भएका छन् ।


प्रतियोगिताको छैटौं दिन शनिबार सम्पन्न दिनको पहिलो खेलमा राई स्कूल नक्सालको पोष्टमा नेपालय ईङ्गलिस पब्लिक स्कूलले १० गोल गरेको छ ।

नेपालयका लागि सर्वन श्रेष्ठ एक्लैले ४ गोल गर्दा किशोर दोङ्ग र सन्देश गडेलले समान २-२ गोल गरे भने बुद्ध खालिङ्ग राई र रनवीर तामाङ्गले १-१ गोल गरेका थिए । खेलमा ४ गोल गरेका सर्वन श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।

यसैगरी शनिबार नै सम्पन्न दिनको दोश्रो खेलमा स्थानीय लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले, पुष्पसदन स्कूल, कीर्तिपुरमाथि ४-१ गोल अन्तरको जित हात पार्यो । सो क्रममा रितिक फडेराले ह्याट्रिक गर्दा विष्णु चन्दको नाउँमा १ गोल रह्यो । रितिक खेलको उत्कृष्ठ खेलाडी चुनिए ।

शनिबार नै सम्पन्न लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले ग्रिन भिलेज सेकेण्डरी स्कूल कीर्तिपुरलाई ७-० को सहज नतिजा आत्मसाथ गर्यो । सैनिक आवासीयका लागि मौसम रोकायले २ गोल गरेका थिए भने भुवन कामी, रोहित श्रेष्ठ, दिपक वि.क., दिपेश दुमजान र अनुभव पुरीले समान १-१ गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबारबाट प्रि-क्वार्टरफाइनल चरणका खेल हुने तालिका रहेको बताइएको छ । आइतबार ४ खेल हुनेछन् । जहाँ नेपाल एपीएफ स्कूल कीर्तिपुर (क) विरुद्ध डि.ए.भि. स्कूल, जावलाखेल, ललितपुर, मनकामना सेकेण्डरी स्कूल जोरपाटी विरुद्ध मोर्डन ईन्डिएन स्कूल, चोभार, नेपालय ईङ्गलिस पब्लिक स्कूल, जोरपाटी विरुद्ध ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर तथा जेम्स स्कूल, धापाखेल विरुद्ध राई स्कूल, नक्सालबीच खेल हुनेछ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।