FLASH NEWS

एपीएफ स्कुल,मनकामना सेकेन्डरी,नेपालय र जेम्स स्कुलको जित


नेपाल आवाज २९ माघ २०८०, सोमबार २२:१५ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौँ –  कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत पहिलो प्रिक्वार्टरफाइनलको खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेन्डरी स्कुल जोरपाटी, नेपालय इङ्गलिस पब्लिक स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेल विजयी भएका छन् ।


नेपाल एपीएफ स्कुलको आयोजनामा माघ २२ बाट जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा आज भएको प्रिक्वार्टर फाइनलका खेलहरूमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले डीएभी स्कुल, जावलाखेल, ललितपुरलाई ५-० गोलले पराजित गरेको छ । पराजयसँगै डीएभी प्रतियोगिताबाट बाहिएको छ । पीएफका लागि विवेक पश्चिमा थारु र एविन बस्यालले समान २-२ गोल गर्दा तेन्जिङ्ग शेर्पाले १ गोल गरेका थिए । खेलमा विवेक पश्चिमा थारु म्यान अफ दि म्याच चुनिए ।

त्यसैगरी मनकामना सेकेण्डरी स्कुल जोरपाटीले मोर्डन ईन्डिएन स्कुल, चोभारलाई ६-२ गोल अन्तरले पराजित गरेको छ। जितसँगै मनकामना क्वाटरफाइनलमा प्रवेश गर्दा मोर्डन ईन्डिएन प्रतियोगिताबाट बाहिरिएको छ।

मनकामना सेकेण्डरी स्कुलका लागि प्रज्वल तामाङले ह्याट्रिक सहित ४ गोल गर्दा पेम्बा तामाङ र अनिष डंगोलले समान १-१ गोल गरेका थिए। खेलमा ४ गोल गरेका प्रज्वल तामाङ म्यान अफ दि म्याच घोषित भए ।

सोमबार नै सम्पन्न दिनको तेस्रो खेलमा नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम ८ मा स्थान सुरक्षित गर्यो।

नेपालय ईङ्गलिस पब्लिक स्कुलका लागि रणविर तामाङ र सुरज स्याङ्गतानले  समान १-१ गोल गरेका थिए । खेलमा सुरज स्याङ्गतान उत्कृष्ठ खेलाडी घोषित भए ।

यसैगरी सोमबार सम्पन्न दिनको चाैथो तथा अन्तिम खेलमा जेम्स स्कुल, धापाखेलले राई स्कुल, नक्साललाई ६-२ गोल अन्तरले पराजित गरेको छ । जेम्स स्कुल, धापाखेलका लागि अनमोल वि.क. ह्याट्रिक पूरा गर्दा उनी म्यान अफ दि म्याच चुनिए ।

जेम्सका लागि आशिष पाण्डेले २ तथा  विशेष कुँवरले १ गोल गरेका थिए । जितसँगै जेम्स पनि प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ बीच खेल हुनेछ भने लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुर विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकीबीच पनि मंगलबार नै खेल हुने तालिका रहेको छ ।

सोही दिन नेपाल पुलिस स्कुल, साँगाविरुद्ध लिटिल एन्जल्स स्कुल, हात्तीवन ललितपुर तथा सैनिक आवासीय माध्यामिक विद्यालय, सल्लाघारीले काव्या स्कुल बुद्धनगर काठमाण्डौको सामना गर्नेछ । खेलमा विजयी हुने टोली प्रतियोगिताको अन्तिम ८ का लागि छनोट हुनेछन् ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।