FLASH NEWS

दुर्गा प्रसाईंसँग संवाद गर्न राप्रपाले बनायो वार्ता समिति


नेपाल आवाज १ फाल्गुन २०८०, मंगलवार १६:५३ मा प्रकाशित ९४३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको  ‘राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियान’को टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ ।


अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै देशका विभिन्न क्षेत्रका मानिसलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने गरेका छन् । प्रसाईंले राजसंस्था फर्काउने उद्घोषसहित संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्। २० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

उनले पटकपटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए । महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह भने सहभागी भएनन् । उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।

राप्रपाले पनि राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि फागुनदेखि आन्दोलन गर्ने गत पुस ३ मा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरेको थियो। आन्दोलन सुरू गर्नुपूर्व अध्यक्ष लिङ्देनले प्रसाईं पक्षसँग संवाद गर्न वार्ता समिति बनाएका छन् ।