FLASH NEWS

कांंग्रेसमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन २२ जना नेताको प्रस्ताव


नेपाल आवाज ४ फाल्गुन २०८०, शुक्रबार २३:१५ मा प्रकाशित ६३१ पाठक संख्या

काठमाडौं- नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन्।


हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’ उल्लेख गरिएको छ।

उक्त प्रस्ताव पेश गर्नेहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौलालगायत छन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकको एजेण्डामा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको विषयलाई समावेश गर्नुपर्ने माग गरेका हुन्। महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए। उनले संविधानमा नै धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको विषयका लागि संशोधन गर्न सकिने दावी गरे। यस विषयमा यसअघि नै पार्टी नेतृत्वलाई पटक पटक सुझाव दिएपनि वेवास्ता गरिएको उनले बताए। उनले कांग्रेसले यसलाई वेवास्ता गरे भविष्यमा ठूलो क्षति हुने जिकिर गरे।

त्यस्तै अर्का पुरक प्रस्तावकर्ता केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सनातन हिन्दूधर्मको विषयमा महासमितिबाट पार्टीको प्रष्ट धारणा आउनुपर्ने बताए। जनआन्दोलनका क्रममा धर्म निरपेक्षको कुरा नउठ्दा सदनबाट पारित भएपनि अब भने त्यसलाई संशोधन गर्नुपर्ने उनले बताए। उनले विश्वको एकमात्र हिन्दुराष्टको पहिचानका रुपमा नेपाललाई अघि बढाउनुपर्ने धारणा राखे।

केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्री द्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बैठकमा प्रस्तावमा सुशासन र भ्रष्टाचार अन्त्यको विषयलाई प्राथमिकतामा राखेपनि कार्ययोजनाका बारेमा प्रस्ताव प्रष्ट नरहेको उनले बताए। उनले कार्ययोजनाका साथ सुशासन र भ्रष्टाचार अन्त्यको प्रस्ताव आउनुपर्नेमा जोड दिए।

बैठकमा प्रस्ताव प्रतिवेदन केन्द्रीय समितिले पारित गरेपछि महासमिति बैठकमा पेश हुनेछ। महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ।