FLASH NEWS

कांग्रेस महासमितिको बैठकमा ‘हिन्दूराष्ट्र’ पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन


नेपाल आवाज ८ फाल्गुन २०८०, मंगलवार ००:१७ मा प्रकाशित ५२३३ पाठक संख्या

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ।


ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो।

बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए।

सोमबारको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको लागि छलफल गर्न प्रस्ताव गरेका थिए।

संविधान जारी भएको ८ वर्ष भइसकेकोले यसमा देखिएका जटिलता र अस्पष्टताको पहिचान गर्ने बेला भएको देउवाको भनाइ थियो।

संविधानले जारी गरेको शासकीय स्वरुपको मूलभूत विषयमा प्रभाव नपर्ने गरी संविधान संशोधनको लागि छलफल गर्न देउवाले प्रस्ताव गरेका हुन्।

उनले सत्ता गठबन्धन संविधान रक्षाको लागि गरेको कारण राजनीतिक स्थिरताको लागि यसको निरन्तरता जरुरी रहेको पनि बताए। त्यस्तै,  भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा पार्टीले तत्कालको राजनीतिक औचित्य र सान्दर्भिकताका आधारमा तय गर्ने पनि उनले बताए।

उनले भने, ‘गठबन्धन गर्ने सन्दर्भमा पार्टीले छलफल गरेर त्यसैबेलमा निर्णय लिनेछ।’

महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजान थप बल पुग्ने देउवाको विश्वास व्यक्त गरेका छन्।

पार्टीको विधानले पार्टीलाई बलियो बनाउनुको साथै आन्तरिक लोकतन्त्र मजबुद बनाएको देउवाको भनाइ छ।

‘विश्वभरि नै आर्थिक मन्दी छ। कोभिड महामारीपछि हाम्रो मुलुकको अर्थतन्त्र पनि प्रभावित भएकामा केही सकरात्मक बन्दै गएको छ,’ उनले भने, ‘प्रतिकूल अवस्थालाई अनुकुल बनाउन सक्दछौँ, जनतामा नयाँ भरोसा दिन सक्छौँ। जनताको निराशालाई देखाएर लोकतन्त्र विरोधी गतिविधि कांग्रेसलाई मान्य हुने छैन।’

उनले कांग्रेसभित्र बहस हुने तथा अन्य दलहरुसँग प्रतिस्पर्धा हुनु पनि स्वभाविक रहेको उल्लेख गर्दै भने- ‘हो, कतिपय हाम्रा साझा बिषय छन्, देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति प्रक्रियाका बाँकी काममा समान धारणा बनाउनुपर्छ।’

यसअघि कांग्रेसले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले नै असहमति जनाएका थिए।

सोमबारदेखि गोदावरी सुरु हुने महासमिति बैठकमा पेश गर्न महामन्त्रीका हैसियतमा थापाले तयार पारेको प्रतिवेदनमा पार्टीले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन्। उक्त विषय नै निर्णय गर्नु नपर्ने भएकाले हटाउनुपर्ने अडान कांग्रेस सस्थापन पक्षले लिएको थियो।

त्यही विषयमा सहमति जुटाउन सभापति देउवा निवासमा महामन्त्री थापासहितका नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।