FLASH NEWS

देश लुट्ने र धार्मिक सद्भाव बिथोल्नेलाई छाड्दैनौँः गृहमन्त्री नारायणकाजी श्रेष्ठ


नेपाल आवाज ११ फाल्गुन २०८०, शुक्रबार १८:५३ मा प्रकाशित ७२१ पाठक संख्या

नेपालगञ्ज – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश लुट्ने र धार्मिक सद्भाव बिथोल्नेलाई नछोड्ने बताएका छन्।


नेपालगञ्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको बताए।

गृहमन्त्री श्रेष्ठले दल, उद्योगी र कर्मचारीको गठबन्धनले देशलाई लुट्ने काम गरेको उल्लेख गर्दै वर्तमान सरकारले पार्टी, बर्ग, घराना, समुदायको मतलव नराखेर कारबाही गरिरहेको बताए।

बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिँदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भएपनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी दिए।

गृहमन्त्री श्रेष्ठले देशलाई समृद्धिको बाटोमा अघि लगेर जनतामा रहेको निराशालाई चिर्न सरकार लागि परेको बताए। उनले धार्मिक सद्भाव बिथोल्नेलाई पनि सरकारले नछोड्ने चेतावनी दिदै समाजमा द्वन्द्व गराउन खोज्ने जो कोहीलाई नछोड्ने बताए।

गृहमन्त्री श्रेष्ठले प्रदेश सुरक्षा गोष्ठीमा लुम्बिनीका १२ जिल्लाका सुरक्षा अधिकारीले आ–आफ्नो जिल्लाको बस्तुस्थिति र चुनौतीहरु प्रस्तुत गरेकाले त्यसलाई हेरेर रणनीति बनाउने जानकारी दिए। बैठकमा लागु औषधको मुद्दा विशेष रुपमा उठेको छ। गृहमन्त्री श्रेष्ठले लागु औषधको कारोबार नियन्त्रण, दोषीलाई कारबाही, सचेतनाका कार्यक्रम र रिहाव सेन्टर सञ्चालनलाई सँगसँगै लिएर जाने रणनीति बनाइएको बताए।

अन्तरक्रियामा राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, अधिकारकर्मीलगयातले विभिन्न प्रश्न गरेका थिए। गृहमन्त्री श्रेष्ठले संसदमा संघीय निजामति ऐन, नेपाल प्रहरी ऐन र संघीय शिक्षा ऐन प्रस्तुत भइरहेको जानकारी दिए।

अन्तरक्रियामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, शहरी विकास मन्त्री कृष्णा केसी र पूर्वमन्त्री मो। इस्तियाक राईको उपस्थिति थियो।