FLASH NEWS

वाफ महिला च्याम्पियनसिप फुटबल: नेपाल समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश


नेपाल आवाज १३ फाल्गुन २०८०, आईतवार १०:१७ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं- वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। नेपाली राष्ट्रिय महिला टोलीले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। नेपाल लगातार तेस्रो जितसहित ९ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा रह्यो।


अब नेपालले फाइनल प्रवेशको लागि समूह ‘ए’ को उपविजेता लेवनानसँग खेल्ने छ। अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्ने छन्। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले समान १-१ गोल गरे।

साउदी अरेबियाको रियादमा मैदानमा नेपालले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गरेको थियो। खेलको ४१औं मिनेटमा सावित्राले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। रेखा पौडेलको पासलाई सावित्राले सदुपयोग गरिन्। खेलको ६०औं मिनेटमा रेखाले सावित्राको पासलाई सदुपयोग गर्दा नेपालले २-० को अग्रता बनायो।

८०औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरिन्। वैकल्पिक खेलाडी रश्मिकुमारी घिसिङले दिएको पासमा सावित्राले गोल गरेकी थिइन्। इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै रक्षक गीता रानाले नेपालको लागि चौंथो गोल पुरा गरेकी थिइन्।