FLASH NEWS

सशस्त्र प्रहरीको केबलकार आपत्कालीन उद्धार अभ्यास


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १८:३० मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं – चन्द्रागिरिमा केबलकारमा फसेकाहरूको उद्धार अभ्यास सुरु भएको छ । सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनी र चन्द्रागिरि हिल्सले चन्द्रगिरि केबलकारमा संयुक्त अभ्यास सुरु गरेका हुन् । केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनका लागि यो कार्यक्रम गरिएको हो ।


आज (मंगलबार)देखि सुरु भएको उक्त अभ्यास तीन दिनसम्म चल्ने सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम थापाले जनाकारी दिए ।

अभ्यासमा सशस्त्र प्रहरी पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमान्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरू सहभागी भएका थिए ।

केबलकारमा हुन सक्ने जुनसुकै आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापनको लागि उक्त अभ्यास गरिएको डिआइजी थापाले जानकारी दिए । उक्त अभ्यासको उद्देश्य सशस्त्र प्रहरी र केबलकार सञ्चालकहरूबिच मानव संसाधन, स्रोतहरूको अवस्था, सामर्थ्य एवं दुई संस्थाहरूबिचको सहकार्यलाई प्रभावकारी बनाउँदै समग्र केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु रहेको छ ।

अभ्यासमा दुई वटा फरकफरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दायाँ वा बायाँ सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुहरूलाई ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोग गरी उद्धारको प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनको क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गरे । साथै उनले यस अभ्यासले आगामी दिनमा हुन सक्ने केबलकार आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापन गर्न दुई संस्था बिचको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डिआइजी थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी पछिल्लो समय सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।

उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने संगठनको नीति अनुरूप सरोकारवाला जुनसुकै निकायसँग समन्वय र सहकार्य गरी विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्नको लागी सशस्त्र प्रहरी सधैँ तत्पर रहेको  प्रतिबद्धता पनि गरे ।