FLASH NEWS

चितवनको एक छात्रावासमा बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार १९:३९ मा प्रकाशित १४७७ पाठक संख्या

काठमाडौं – चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन् ।


गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् ।

सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । उक्त जाहेरीपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रहरीले यस घटनामा अनुसन्धान जारी रहेको र पोष्टमर्टमको रिपोर्टपछि घटनाबारे बताउन सक्ने जनाएको छ ।