FLASH NEWS

शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’


नेपाल आवाज २० फाल्गुन २०८०, आईतवार १४:३१ मा प्रकाशित १७२३ पाठक संख्या

काठमाडौं – चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयको छात्रावासभित्र मृत भेटिएकी शालिन पोखरेलको पोष्टमार्टम रिर्पोटमा बलात्कार नभएको देखाएको छ।


प्रहरी स्रोतका अनुसार काठमाडौंको टिचिङ अस्पताल गरिएको पोखरेलको शवको पोष्टमार्टममा उनको बलात्कार नभएको रिर्पोट नेगेटिभ आएको हो ।

स्रोतका अनुसार त्रिवि अस्पतालले चितवन प्रहरीलाई पठाएको पोस्टमार्टम रिपोर्टमा  शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन ।

पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’  १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् ।

पीडितको तर्फका अधिवक्ता युवराज सफलले प्रहरीले आधिकारिक रूपमा आफूहरुलाई पोस्टमार्टम रिपोर्ट दिई नसकेको बताए ।

कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उता,बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ । शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार, थप अनुसन्धान आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि उक्त घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा स्टाटस लेख्दै घटनाको सुक्ष्म अनुसन्धानका लागि आफूले निर्देशन दिएको बताएका थिए ।

बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीसँग संयुक्त ब्रिफिङ लिएका छन्।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर कक्षा ८ मा पढ्थिन् ।