FLASH NEWS

धादिङ घाटबेसी बस दुर्घटना अपडेटः तीन शव फेला, मृतकको संख्या १० पुग्यो


नेपाल आवाज २४ फाल्गुन २०८०, बिहीबार २३:११ मा प्रकाशित १५४९ पाठक संख्या

धादिङ – धादिङको घाटबेंसीमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ । दुर्घटनामा हराइरहेका बुटवलका उपमहानगरपालिका ६ का प्रकाश पाठक र स्याङ्जाको वालिङ नगरपालिका ९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको बिहीबार शव फेला परेसँगै मृतकको संख्या १० पुगेको हो ।


भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा हराइरहेका पाठकको शव बिहीबार दिउँसो दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशूली नदी किनारमा भेटिएको हो ।

बुधबार भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ४ हराइरहेका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तुलालप्रसाद जैसवारका अनुसार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १२ का विनोद लोद अझै हराइरहेका छन् । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोरको टोलीले खोजिरहेको छ ।

चालक र सहचालकसहित ५२ जना सवार बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना बेपत्ता भएका थिए ।

दुर्घटनामा ३९ जना घाइते भएका थिए ।