FLASH NEWS

बाहिनीपति कपको उपाधि सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीलाई


नेपाल आवाज २५ फाल्गुन २०८०, शुक्रबार १८:२६ मा प्रकाशित २९७१ पाठक संख्या

सुनसरी – सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीद्वारा आयोजित “बाहिनीपति कप प्रतियोगिता:२०८०”को उपाधि सशस्त्र प्रहरी बल,नेपाल नं. ४ गण सुनसरीले जित्न सफल भएको छ।


फाल्गुण २२ गतेदेखि संचालन भएको प्रतियोगिता संगठनको पेशागत गतिविधी चक्र (प्रोफेशनल एक्टिभिटिज् साईकल -पिएसि) अन्तर्गत संचालन गरिएको प्रतियोगिताको उद्‌घाटन तथा समापन बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गर्नु भएको थियो ।

फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी ५ वटा खेलका विधाहरु समावेश गरिएको प्रतियोगितामा  फुटबल, भलिबल, ब्याडमिन्टन एवम् टेबल टेनिस तर्फ ८/८ टिम र एथ्लेटिक्सतर्फ १६ जना (महिला र पुरुष) प्रतिस्पर्धीहरु सहभागी भएका थिए।

फौजको व्यावसायिक क्षमता अभिबृद्धि,सामूहिक भावनाको विकास, युनिटप्रतिको वफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यले पेशागत गतिविधी चक्र (पिएसि) अन्तर्गत संचालित प्रतियोगितामा वाहिनी मातहत गण र गुल्महरुबाट विभिन्न ५ विधाका खेलहरुमा १२० जनाभन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गरेका थिए।

६ स्वर्ण, ६ रजत र २ कास्य गरी १४ वटा पदकहरु वितरण गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक गरी ४ वटा पदकहरु जित्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हे. क्वा. सुनसरीले ‘बाहिनीपति कप-२०८०’ को ट्रफी उचाल्न सफल भयो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी दोस्रो र सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे. क्वा. त्रियुगा उदयपुरले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी खेलगत विधामा फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल,नेपाल नम्बर ४ गण हे. क्वा. सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी प्रथम भएका छन्। यसका साथै एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत स्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी र महिलातर्फ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गण हे. क्वा. झापाले प्रथम स्थान हासिल गरेको सशस्त्र प्रहरी बल,नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली,सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक ( प्रवक्ता) दिपेन्द्र गिरीले जानकारी दिए ।

बिभिन्न खेलहरुमा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण-पत्र र खेलका निर्णायक एवम् टिमका व्यवस्थापकहरुलाई प्रसंशा-पत्र प्रदान गरिएको थियो ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बाहिनीपति कपको ट्रफी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हे. क्वा. सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलाई हस्तान्तरण गरे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले यस्ता खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरुमा अझ अनुशासन र गतिशीलता ल्याउने, सम्भावना बोकेका नयाँ खेलाडीहरुको पहिचान गर्न सकिने, खेलकुदको माध्यमबाट राज्यलाई योगदान दिन सकिने, सशस्त्र प्रहरी कर्मचारीहरुमा आपसी बन्धुत्वको विकास भई कार्यक्षेत्रमा खटिन आत्मबलमा अभिबृद्धि हुने र निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’ को लागि समेत खेलाडीहरुको छनौट गर्न सहयोग पुग्ने बताए ।