FLASH NEWS

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्री ‘प्रचण्ड’को तयारी


नेपाल आवाज २६ फाल्गुन २०८०, शनिबार १९:२६ मा प्रकाशित ७२७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।


शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री‘प्रचण्ड’ले फागुन ३० गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन् ।
विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ। अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।

साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

गत फागुन २१ गते प्रधानमन्त्री‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।