FLASH NEWS

प्रहरीलाई गृहमन्त्रीको निर्देशन: अपराध गर्नेलाई कारबाही गर्नू, मेरो आदेश कुर्नु पर्दैन


नेपाल आवाज २९ फाल्गुन २०८०, मंगलवार ११:३९ मा प्रकाशित १००९ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरकानुनी कारबाही गर्ने जो कोहीलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।


मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाल प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनले गैरकानुनी कारबाही गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु नपर्ने बताए ।

उनले कसैको आदेश नकुरी ऐन अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिए । आफूले सलाम गर्ने गरी काम गर्न उनले प्रहरीलाई भनेका छन् ।

“देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, करछली गरेको छ, गुन्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टीवाला होइन, देशवाला) !!”, उनले फेसबुकमा लेखेका छन् ।