FLASH NEWS

पत्नीको विभत्स हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार ११:०९ मा प्रकाशित ६५५ पाठक संख्या

मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।


मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको खुलेको छ । उनीहरुको स्थायी ठेगाना यकिन भइसकेको छैन।

उनले दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नीको विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको ८ वर्षका छोरा भने भागेर बाँचेका छन् ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पति–पत्नीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।