FLASH NEWS

अज्ञात चोरहरुद्धारा विद्युतको ट्रान्सफर्मर चोरी


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १२:२६ मा प्रकाशित ४८१ पाठक संख्या

रौतहट। रौतहट जिल्लाको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको छ।


विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर लागेको अवस्थामा खोको भेटिएको छ। स्थानीयका अनुसार बुधबार बिहान हेर्दा ट्रान्सफर्मरभित्र भएको विद्युतको तेल र तामा निकालिएको अवस्थामा भेटिएको हो। ट्रान्सफर्मर चोरी भएपछि सो वडाको विद्युतीय सेवा अवरुद्ध समेत भएको छ।

त्यस्तै रौतहटकै चन्द्रपुर नगरपालिका– १० बाल्चनपुरमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । ५० केभी पावरको ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए।

सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मंगलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए ।

बिजुलीको ट्रान्समिटरभित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ। पछिल्लो समय जिल्लामा चोरीको घटनामा वृद्धि भएको छ। पर्व नजिकिँदै जाँदा चोरीको घटना बढेको पाइएको हो।