FLASH NEWS

रविले दिए कर्मचारीहरुलाई निर्देशन : सरकार भएको अनुभव जनतालाई मिलोस्


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १६:५२ मा प्रकाशित ३४६३ पाठक संख्या

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई बोलाएर निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बुधबार मात्र सरुवा भएका सरकारी अधिकारीलाई सो निर्देशन दिएका हुन् ।


नागरिकहरुले सरकार भएको अनुभूति गर्न नपाएको भन्दै उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिए ।

गृहमन्त्रालयले भर्खरै मात्र अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो।

गृहमन्त्री लामिछानेले भने, ‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन।’

कर्मचारीहरूलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिँदै अबको दिनमा त्यस्तो नहुने समेत बताए ।

अब सेवा प्रवाहमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न आवश्यक भएको भन्दै त्यसको निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले भने ‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुस्। आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नुस्। नागरिकबाट मान सम्मान खोज्ने होइन, उनीहरूलाई सेवा गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’’ ।

अध्यागमनका समस्या समाधानका योजना ल्याउन रविले निर्देशन दिएपछि गृहसचिव एकनारायण अर्यालले समेत सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिए । स्थानीय सरकारसँग समन्वय गरी समयमै निर्णय र रिपोर्टिङ गर्न समेत कर्मचारीहरूलाई निर्देशन दीइएको छ।