FLASH NEWS

बाँसबारी जग्गा प्रकरण : सीआईबीले विनोद चौधरीसँग लियो दुई घण्टा बयान


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार ११:१६ मा प्रकाशित ५७७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई घण्टा बयान लिएको छ ।


बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए ।

स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने चौधरीको भनाइ छ। चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे ।

सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए ।

चौधरीले भने, ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ। ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।