FLASH NEWS

महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार १०:४० मा प्रकाशित ७२७ पाठक संख्या

काठमाडौं – सुन प्रकरणमा पक्राउ परेका  पूर्व सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ ।


महराको स्वास्थ्य अवस्थालाई कारण देखाउदै हाजिरी जमानीको अनुरोध गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। अदालतबाट प्राप्त ४ दिनको म्याद सकिएसँगै महरालाई आज म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।

अदालतमा स्वास्थ्य अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न अनुरोध गरिने सिआइबी स्रोतले जनाएको छ ।

बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ । बयान लिनु अघि महरालाई नर्भिक अस्पतालमै भर्ना गरिएको थियो।

महरालाई गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको आरोपमा महरामाथि अनुसन्धान सुरु भएको हो ।