FLASH NEWS

होलिका दहन र उल्लासमय होली


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार १०:३६ मा प्रकाशित ५५३ पाठक संख्या

अकस्मात टाढाबाट कोलाहल बढेझैं लाग्छ। पातलिँदो स्वरमा श्री हरि शरणमको आवाज स्पष्ट सुनिन्छ। श्री हरिशरणम स्वर उच्च हुँदै गइरहेको छ। नेल र सिक्रीले बेरिएको प्रह्लादलाई सिपाहीहरूले मूल सडकको चोबाटोतिर लगिरहेका छन्।


विश्वका विभिन्न धर्म र संस्कृतिहरूमा पौराणिक कथाहरूमार्फत समाजमा हुने गरेका विकृति-विसंगतिहरू हटाई राम्रो सामाजिक वातावरण बनाउने प्रयासहरू युगौंदेखि  हुँदै आएको छ। यस्तै किसिमको मिथकीय कथाहरूबाट धेरैजसो चाडपर्वहरूको मौलिकता स्थापित भएको पाइन्छ। भगवानलाई मान्ने वा नमान्ने भन्नेबारेमा देवताहरू तथा दानवहरूबीच कैयौंपटक महासंग्राम भएको कुराकै आधारमा  अहिले पनि विभिन्न किसिमका तर्क र कुतर्कहरूको जन्म नभएको पनि होइन। तर, हिन्दु वांग्मयका शाश्वत र सनातन मानव धर्मको बहुआयामिक आध्यात्म दर्शनले विश्वको अगाडि जुन इश्वरीय अन्तरचेतनाको उद्घाटन  गरेको छ, त्यसले विश्व ब्रहमाण्डमा एकात्म मानववादका लागि एकजुटता देखाउन उत्प्रेरित गरिरहेको छ। तसर्थ, विश्वका समस्त विचार, सम्प्रदाय र धर्महरू ‘एकोहम बहुश्याम’भित्र एकाकार हुनु अवश्यम्भावी छ।

 

होलिका दहन र फागु पूर्णिमाको प्रसंग यस्तै शृंखलाको एउटा कडी हो। दानव राज हिरण्यकशिपु आफूलाई नै सर्वशक्तिमान परमात्मा भएको घोषणा गरिसकेका छन्। उनको दानव शक्तिलाई परास्त गर्ने क्षमता कुनै धर्तीबासीमा छैन। उनको जय जयकार जल, थल, नभ, सबै दिशातिर भइरहेको छ। तर, हिरण्यकशिपुको आफ्नै छोरो जो बाल्य अवस्थामै छन्, उनले आफ्ना बाबु हिरण्यकशिपुलाई भगवान मान्दैनन्। परिणामस्वरुप हिरण्यकशिपु हरेक किसिमको यातना दिँदै प्रह्लादलाई मार्ने योजना बनाउँछ।

 

फागु पूर्णिमाकै रात प्रह्लादलाई चौबाटोमा लगेर जिउँदै जलाएर मार्ने आदेश राजाबाट भएको घोषणा सिपाहीहरूले ढोल, नगााडा, पिट्दै गरेका छन्। बालबालिकाहरूको त के कुरा ठूलाबडाहरू पनि हिरण्यकशिपुको डर र आतंकपूर्ण व्यवहारले मर्माहत भएका छन् र सहजै घरबाहिर आउने हिम्मतसम्म गर्दैन्। अघोषित कर्फ्यूजस्तै छ।हिरण्यकशिपुको राजधानीमा राक्षेसपनाको सर्वसत्तावाद कायम छ। केटाकेटीहरूमा बढी नै त्रास छ। गुरुकुल र विद्यालयमा सत्य र धर्मको होइन, असत्य र अर्धर्मको शिक्षा सिकाइँदै छ।

 

कसैले अन्यायको विरुद्धमा बोल्यो कि मृत्युदण्ड सुनाइन्छ। प्रह्लादका दौंतरी साथहरूमा यसपालि बढी अत्यास र छटपटी लागेको छ। आजै बेलुका प्रह्लादलाई जिउँदै जलाएर मार्छन् भनेर सबै दुस्खित र असहाय बनेका छन्। घरी(घरी घरको दैलो र झ्यालको प्वालबाट चियाएर हेर्छन्। कतै प्रह्लाद कसाइहरूको फन्दाबाट फुत्किएर हाम्रो घरमा लुक्न पो आउँछन कि भनेर वरिपरि हेर्न खोज्छन्। तर, सबै व्यर्थ। साँझ पर्न लागेको छ। कसैको भान्सामा चुलो बलेको छैन। एउटा सत्यवादी, सर्व शक्तिमान परमात्मालाई बुझेको र चिनेको बालकको हत्या सार्वजनिक ठाउँमा लगेर गरिँदैछ भन्ने डरले कसैको पनि हात र खुटटा गतिमान हुन सकि रहेको छैन।

 

अकस्मात टाढाबाट कोलाहल बढेझैं लाग्छ। पातलिँदो स्वरमा श्री हरि शरणमको आवाज स्पष्ट सुनिन्छ। श्री हरिशरणम स्वर उच्च हुँदै गइरहेको छ। नेल र सिक्रीले बेरिएको प्रह्लादलाई सिपाहीहरूले मूल सडकको चोबाटोतिर लगिरहेका छन्। हरिशरणम, श्री हरिशरणमको जप मन्त्र मनमनै दोहोर्‍याउँदै छन् प्रह्लादका बालसखाहरू। शोकार्त र अधैर्य भएर ढोकाबाट चियाएर हेर्न खोज्छन्। भिड अगाडि बढ्दै चौबाटोको गन्तव्यमा पुगेर टक्क रोकिन्छ।

 

माथि आकाशमा चन्द्रमाको पूर्ण छटा उदाउन लागिरहेको छ। प्रह्लादलाई जलाउने चिता तयार भइसकेको छ। हिरण्यकशिपुकी बहिनी होलिका आफूलाई आगोले जलाउन नसक्ने कपडा आफ्नो जिउमा बेरेर प्रह्लादलाई काखमा राखेर चितामाथि बसेकी छिन्। प्रह्लादलाई अन्तिम पटक सुमसुम्याउँदै माया गरेझैं दानवराज हिरण्यकशिपुको आदेश सुनाउँछिन्। उनी प्रह्लादलाई हिरण्यकशिपु नै भगवान हुन् भनेर फकाउन खोज्दैछिन्। मानिहाल प्रह्लाद हिरण्यकशिपु नै  सर्वशक्तिमान परमात्मा हुनुहुन्छ भनेर। तर, प्रह्लादले यसपालि पनि मानेनन। भगवान विष्णु नै यस संसारका सर्वशक्तिमान परमात्मा हुन् र उनैले सबैको रक्षा तथा पालन पोषण गर्नुहुन्छ भन्ने जवाफ फर्काएपछि होलिका रिसले आगो भइन्। प्रज्वलित चिताको शीर्ष भागमा प्रह्लादलाई काखमा बोकेर बसिन्। आगो दनदनी बल्न थाल्यो। केही छिनमै चिताको धूवाँले आकाशको जुनेली रात छोपियो। निस्स्तब्ध र डरलाग्दो औेंसीको कालरात्रिजस्तै पूर्णेको रात बनेको देखेपछि नगरबासीहरूमा झन्(झन् त्रास र अनिष्ट हुने खतरा बढ्न थाल्यो। रनक्क आगोको लप्काबीच करुण क्रन्दन गर्दै चिच्याइरहेकी र छटपटाउँदै गरेकी नारी स्वर होलिकाकै हो भनेर सिपाहीहरूले ठम्याउन र चिन्न सकेनन्। काठबाट बनाइएको उच्च चिता होलिकाको  खरानीमा परिणत हुँदै सेलाउँदै गयो।

 

रातभरि प्रह्लादका दौंतरी बालसखाहरू कोही पनि निदाउन पाएनन्। भगवान विष्णुले पक्कै पनि प्रह्लादको जीवन रक्षा गरे होलान् भन्ने कुतकुती र जिज्ञासा भने उनीहरूको मनमा जीवित थियो। ब्रह्म मूहुर्त बेलामा एकाबिहानै उनीहरू आफ्नो(आफ्नो घरको दैलो उघार्दै बाहिर निस्केर राजपथको चौबाटोतिर लागे। सिपाहीहरू अझै मासु र मदिराको झोंकमा मस्त निद्रामा घुर्दै थिए। प्रह्लादका साथीहरूले बाँसको घोचो लिएर खरानीको थुप्रो पलटाउन थाले। अकस्मात खरानीको थुप्रोमाझ भित्रबाट प्रह्लादको श्री हरिशरणम् स्वर सुनियो। दौंतरी बालसखाहरू खुशी र रोमाञ्चले प्रफुल्लित हुँदै उफ्रिन थाले। बालसखाहरूले खरानी उडाउँदै श्रीहरि शरणम् ।।। श्री हरिशरणम् उच्चारण गर्दै प्रह्लादलाई जीवित नै भेट्टाएर अंकमाल गरे। सर्वशक्तिमान परमात्माको इच्छाविरुद्ध यस संसारमा कसैले कसैलाई पनि मार्न सक्दैन भन्ने कुरामा सबैलाई फेरि विश्वास भयो।

 

यता भगवान विष्णुको जयजयकार हुँदै गरेको, प्रह्लादसँग उनका साथीहरूले लडिबुडी खेल्दै गरेको देखेर झसंग भएका हिरण्यकशिपुका सिपाहीहरू खबर सुनाउन र नयाँ आदेश लिन दानव सम्राटको महलतिर दौडिँदै गए भने नास्तिकवाद पराजित भएर आस्तिकहरूले धर्मको रक्षा गर्न सफल भए। सर्वसाधारण मानिसहरू पनि अत्यन्त हर्ष उमंग र खुसियालीका साथ प्रह्लादको स्वागत गर्न आफ्ना(आफ्ना घरबाट निडर भएर बाहिर आए। प्रह्लादका बालसखाहरूले उनलाई काँधमा बोकेर,  खरानीको धूलो उडाउँदै रंग र अबिर एक-आपसमा दल्दे प्रसन्नता व्यक्त गरेका थिए।

 

यसरी अत्यन्त हर्ष, उमंग, जोश र खुसियालीका साथ आत्माको अमरता र इश्वरप्रतिको विश्वास भएकोमा शुभकामना साटासाट गर्दै, को बच्चा, को बृद्ध सबै उमेर, तह र तप्काका मानिसहरू खुसियाली मनाउन स्वस्स्फूर्त रुपमा अग्रसर भई दानव साम्राज्यविरुद्धको होलिका दहन  प्रदर्शन र इश्वरीय तथा मानवीय सुशासनको पक्षमा होली अथवा फगुवा पर्वको शुभारम्भ भएको थियो। होली, फगुवा वा फागु पर्व पूर्णरुपमा प्रेम, सौहार्दता, सामीप्यता र सम्मिलनको महापर्व हो। यो मानवलाई महामानव बनाउने पर्व हो। होली पर्वमा आफ्नो मनभित्रको इर्श्या, द्वेश र छलकपटको भावनालाई रंगहरूको आदान-प्रदानबाट धोई(पखाली समतावादी, समावेशी मानव समाजको सुव्यवस्थापन गर्न सकिन्छ। शुभकामना आदान-प्रदान गर्ने र खुसियाली साटासाट गर्ने दिनको रुपमा यो होली पर्वलाई मनाउने गरिएकोले सबै शुभेच्छुकहरूप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।