FLASH NEWS

नेपालीलाई उल्लु बनाउने ” मर्निङ्ग वाक ” ! मर्निङ्गवाकका कारण अनाहकमा गुम्दैछ ज्यान


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार २०:०८ मा प्रकाशित १७४१९ पाठक संख्या

आजको लेख अलि फरक किसिमको छ। यो लेख पाठकहरुलाई ” मर्निङ्ग वाक ” बारे बुझाउने रहेको छ। एउटा झस्काउने तथ्य पनि छ। ” मर्निङ्ग वाक ” का कारण स्वस्थ भईएला भन्दा उल्टै ज्यान जोखिममा परेको केहि उदाहरण र ज्यान जाने कारण सहितको यो लेखलाई प्रचार गरि नेपालीहरुलाई उल्लु बनाउने ” मर्निङ्ग वाक ” बारे जानकारी दिनुहोला। 


लेखक : सन्जिव न्यौपाने 

आजभोलि मानिसहरु स्वस्थ हुन चाहन्छन्। स्वास्थ्य नै धन हो। मानिस स्वस्थ रहनको लागि जे पनि गर्न तयार हुन्छ। केहि समय अघि मात्र पनि हेर्ने हो भने नेपालमा खासै ” मर्निङ्ग वाक ” हिँड्ने चलन नै थिएन। जब हस्पिटलका डाक्टहरुले मर्निङ्ग वाक हिँड्नुहोस् अनि स्वस्थ हुनुहुनेछ भन्न थाले अनि रोगि तथा स्वस्थ मानिसहरु अझै स्वस्थ रहनको लागि मर्निङ्ग वाक हिँड्ने गर्नथाले।

पूर्वीय दर्शन र पश्चिमी दर्शनबीच आकाश जमिन फरक छ। पश्चिमी शिद्धान्त र पश्चिमी दर्शनले भौतिक चिज राम्रो भए त्यसैलाई स्वस्थ भएको मान्छ तर पूर्वीय शिद्धान्त र पूर्वीय दर्शनले मानसिक, भौतिक र अध्यात्मिक रुपमा स्वस्थ व्यक्तिलाई मात्र स्वस्थ मान्छ। अहिले पछिल्लो समयमा आएर मात्र पस्चिमिहरुले पनि मानसिक स्वास्थ्यको कुरा बुझे र मानसिक स्वास्थ्यको प्रसंगलाई पनि महत्वपूर्ण स्वास्थ्यको हिस्सेदार बनाए। तर उनीहरुले अझै अध्यात्मिक स्वास्थ्यलाई बुझेका छैनन् जसको व्याख्या हजारौं वर्षअघि हाम्रा ऋषिमुनिहरुले गरिसकेका छन्।

भौतिक स्वास्थ्य र सुख चाहनेहरुले दौडधूप , खेलकूद , शारीरिक अभ्यासलाई केन्द्रमा राखी ” मर्निङ्ग वाक ” जस्ता कुराको कल्पना गरे भने भौतिक, मानसिक तथा अध्यात्मिक स्वस्थ हुन चाहनेहरुले जप, ध्यान , योग र साधनालाई केन्द्रमा राखे जसको फलस्वरूप पूर्वीय दर्शनमा यी चिजहरु हावी भए तर शारीरिक अभ्यास भने पश्चिमी दर्शनमा हावी हुँदै गयो।

आयुर्वेदले रोगको कारण वात , कफ र पित्तलाई मान्छ भने अध्यात्मले पंचतत्व शुद्ध भए र शरिरका चक्रहरू सन्तुलित भए रोग लाग्दैन भन्छ। जसरि डक्टरि उपचारले रोग नियन्त्रण गर्छ तर निदान गर्दैन तर आयुर्वेदले रोगको जरो नै उखेल्छ ठिक त्यसैगरी ” मर्निङ्ग वाक ” ले शारीरिक स्फूर्ति दिन्छ तर जप, ध्यान ,स्तोत्र पाठ , योग तथा साधनाले शरीर , दिमाग तथा आत्मालाई सन्तुलित राखी रोग नै लाग्न दिदैन।

संसार पनि अचम्मकै छ। हामि उनीहरुको ” मर्निङ्ग वाक ” टिपिरहेका छौं र उनीहरु हाम्रो योग, आयुर्वेद, साधना , जप , तप र ध्यानलाई टिपिरहेका छन्।

अब लागौं नेपालीले नबुझेको ” मर्निङ्ग वाक ” तर्फ :

आज म चतराबाट फर्किदै थिएँ। म संग एकजना बा ” देवराज अधिकारि ” तथा साथि ” राजेन्द्र श्रेष्ठ ” हुनुहुन्थ्यो। हामि गाडिमा आइरहँदा सिन्धुलीको उकालोमा आईपुग्यौं। त्यहाँ केहि महिलाहरु देखिए ठिक बिहानको ४ बजे। गाडि राजेन्द्र जी ले चलाईरहनुभएको थियो। सायद काठमाण्डौ आउन लागेको पो हो कि ? जस्तो बुझेर वहाँले गाडि रोक्नुभयो। उनीहरु गलल्ल हाँसे। हामि छक्क पर्यौं र हेराहेर गर्यौं।

यसो हेरेको त हातमा कुकुरको शिक्रि अनि बाटोमा कुकुर। ३-४ जना एकसाथ ” मर्निङ्ग वाक ” पो हिँडेका रहेछन भन्ने बुझेर देवराज बा ले भन्नुभयो , ” हिँड जाउँ  ”  । त्यसपछि गाडि गुड्यो र हामि गफ गर्न थाल्यौं, ” यस्तो गाउँमा घरमा गाईवस्तु हुन्छन् , खेतबारी हुन्छ अनि यस्तो ठाउँ जहाँ हरियाली जंगल छ अनि यी नारीहरु किन धूलो उडिरहेको प्रदुषित हावामा मर्निङ्ग वाक हिँडेका होला है ? ” राजेन्द्र जी ले सोधिहाल्नुभयो।

फेरी देवराज बा को उत्तर बेग्लै थियो , ” हेर त बाबु। यिनका छोराछोरी होलान् , श्रीमान होलान्। सासु-ससुरा होलान्। यिनीहरु मर्निङ्ग वाक हिंड्नु साटो घरमै काम गर्दा पनि त त्यत्तिकै व्यायाम त हुन्थ्यो होला नि। अहिले अब यिनीहरु कम्तिमा २-३ घण्टा त हिंड्ने नै होला ? त्यतिखेरसम्म बच्चा रोए भने के गर्लान् ? सासु-ससुरा वा श्रीमानले खोजे भने के गर्लान् ? हाम्रो जिवनशैलि यस्तो हुने हैन नि बाबु। हाम्रो जीवनशैलीमा त नारीले सबै चिज धानेकी हुन्छिन् र त उनलाई देवीको स्वरुप मानेको।

अब हेर त यता आखिर स्वस्थ बन्नको लागि किन कुकुर डोर्याउनु ? गाई डोर्याएको भए त कमसेकम दुध त दिन्थ्यो। यो कुकुर डोर्याउने चलन कहाँबाट भित्रियो हाम्रो देशमा ??  हाम्रो पालामा त कुकुर छुन पनि हुन्न भन्थे। ”

यस्तै-यस्तै बहसहरुले मलाई यो ” मर्निङ्ग वाक ” बारे अझै खोज्न मनलाग्यो किनकि वहाँहरुको विचार म संग लगभग मिल्दोजुल्दो थियो। हामि भएका खेतबारी बाँझो राखेर र सानो घरको काम गर्न पनि मान्छे राखेर आफू चाहीं स्वस्थ बन्न ” मर्निङ्ग वाक ” हिँडदैछौं।

घरको गाई-गोठ भत्काई कुकुरको खोर बनाउँदैछौं र दुध दोएर गाईको घिउ घस्नुपर्ने हातले कुकुरको फोहोर सोहोर्दैछौं।

योग, ध्यान , साधना, पुजा-पाठ गर्ने समयमा बच्चा रुवाई ” मर्निङ्ग वाक ” हिँडेर स्वस्थ बन्न हिँडेका हामि बाटो-बाटो धुलो खाँदै फोक्सो बिगारेको र बिहान हुने अत्याधिक प्रदुषणले क्यान्सर, किड्नी रोग , मुटु ब्लकेज , हर्ट अट्याक , निमोनिया, रुघा खोकी सबै बोकेको पत्तै नपाई फेरी स्वस्थ बन्न यहि नाटक मंचन यसकारण गर्दैछौं कि कुनै पश्चिमी ज्ञान पढेको डाक्टरले हामीलाई त्यस्तै सिकाएको छ।

घटना तल्लाघरकी एकजना आमाको हो। मर्निङ्ग वाक हिंडदा-हिंड्दै निमोनिया भएको उनलाई निमोनिया हुनुको कारण ” मर्निङ्ग वाक ” थियो। अलिकति परका एकजना दाईलाई हृदयघात हुनुको कारण बिहानको प्रदुषणमा ” मर्निङ्ग वाक ” निक्लनु रहेको थियो भने अर्की एकजना दिदीलाई भएको स्ट्रोकको कारण चाहिँ जाडोयाममा बिहानको चिसो सित र तुसारो टाउकोमा झर्दा सिधै रगत जम्न पुगेछ।

अर्का एकजना बा भन्दै थिए , ” मर्निङ्ग वाक हिंड्न थालेपछि त झनै स्वाँ-स्वाँ पो आयो। ” अर्को दिन जचाउन पुगेर आई समाजमा सुनाउदै थिए , ” चिसोको एलर्जीले दम पो भएछ। ”

यी त केहि प्रतिनिधि घटना मात्र हुन्। मर्निङ्ग वाक हिँडेको बेला सार्वजनिक सौचालय नपाएको र लामो समयसम्म पिसाब रोक्नुपरेको , बाटोमै पिसाब गरेको र टोल दुर्गन्धित बनाएको , कुकुर डुलाउदै कुकुरको फोहोर समाजभर अर्काको घर – गेट अघि छरपस्ट पारिदिएको कारण बिरामी परेका मान्छेको त झन कुनै हिसाब नै छैन।

कहिलेकाहिँ कल्पना गर्छु कति शान्त र सुन्दर हुन्थ्यो होला जीवन ? ति मर्निङ्ग वाक हिँड्ने मान्छेहरु। कोहि आफ्नै खेत खनिरहेका , कोहि गाई चराईरहेका र दुध बेच्न क्यान बोकी हिंडीरहेका अनि आफ्नो जग्गा नहुनेहरुले गमलामा आफूलाई पुग्ने तरकारी , फलफूल आदि उब्जाउन बिहानदेखि मिहिनेत गरिरहेका।

कोहि फुर्सद हुनेहरु मन्दिरमा भजन गाई नाचिरहेका , उफ्रीईरहेका अनि कोहि योग, ध्यान , साधनमा मस्त रहेका देखेर एकजना विदेशि पर्यटकले छक्क पर्दै फोटो-भिडियो खिची, ” यस्तो पो हुन्छ  स्वस्थ अनि समृद्ध जीवन ” भन्दै थियो उसैको भाषाबाट। म सुन्दै थिएँ आफ्नै कल्पनामा।

फेरी उसले थप्यो , ” नेपालको जस्तै पूर्वीय दर्शनले भनेको योग, आयुर्वेद, ध्यान , जप , तप र साधना अनि गौ-सेवा तथा प्राकृतिक जीवन बिताउने व्यक्तिहरुमा कुनै रोग , मानसिक समस्या तथा जिवनमा कुनैपनि प्रकारका समस्या नरहेको पाईयो। मर्निङ्ग वाक जस्तो जबर्जस्ति चिज हैन अब पूर्वीय दर्शनको जीवनशैली पस्चिमिले समेत अनुशरण गर्नुपर्ने देखियो। त्यसको लागि हामि नेपालमा आएर यी कुराहरु सिक्नुपर्ने देखिन्छ। ”

अनि एकजना पूर्वीय शास्त्रका धर्मगुरु भन्दैथिए , ” शास्त्र अनुसार मानिसलाई रोग लाग्ने र निको गराउने उसको दैनिक खानपान , चिन्तन र गतिविधिले हो। मानिस जति-जति प्रकृतिसंग नजिक हुन्छ त्यति-त्यति उ रोगबाट मुक्त हुन्छ र जति-जति मानिसले जबर्जस्तीको जिन्दगि जिउन थाल्छ र प्रकृतिबाट भाग्न थाल्छ त्यति त्यति उ अस्वस्थ हुन्छ र उसको आयु पनि छोटो हुन्छ। ”

सारमा यत्ति हो , ” मर्निङ्ग वाक ”  जबर्जस्तिको काम हो।  यो हाम्रो सभ्यता पनि हैन र नेपालीहरुलाई आवश्यक चिज पनि हैन भने योग, ध्यान , जप , तप, साधना अनि वैदिक जीवनशैली अनुसारको जीवनयापन तथा आफ्नो बाँझो जमिनमा अन्न उमार्नु अनि कुकुरको साटो गाई डुलाउनु हाम्रो आवश्यकता र सभ्यता दुवै हो।

तर हामि त नेपाली पर्यौं। हामीलाई आफ्नो अमृत पनि विषजस्तो लाग्छ भने अर्काको घरमा फलेको धतुरो चाहिँ कागतीजस्तो लाग्छ। “