FLASH NEWS

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार १९:१३ मा प्रकाशित ६४३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताएका छन्।


रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताए।

‘शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ। सकेसम्म मेरो कोसिश सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो’, प्रधानमन्त्री‘प्रचण्ड’ले भने ‘कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ । हामीलाई चाहिएको सुशासन र समृद्धि हो। त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ।’

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही मानकहरू स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवश्यकता के हो भन्ने कुरालाई मुखारित गर्न वर्तमान सरकार प्रयासरत रहेको दाहालको भनाइ छ।

‘नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ। संघीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ। वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै आफ्नो आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती हाम्रासामु छन्’, प्रधानमन्त्री‘प्रचण्ड’ले भने।

तीन तहको सरकारका बीचमा आयोजना छनोटमा देखिएको अराजकता हटाउने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइने पनि उनले बताए।

सरकार पूर्ण स्वतन्त्रताको पक्षमा रहेको तथा संचारमाध्यम र संचारकर्मीको हितका निम्ति प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले आमसंचार माध्यममा सबै जाति, वर्ग, भाषा र समुदायको पहुँच बढ्नेगरी संचार नीतिमा पुनरावलोकन गर्न लागिएको उल्लेख गरे।