FLASH NEWS

संकटमा मुख्यमन्त्री जम्कट्टेलको सरकार, विश्वासको मतको विपक्षमा नेकपा एस


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १८:४३ मा प्रकाशित ७६३ पाठक संख्या

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन्। सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् ।


यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सातै प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो।

एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन्। हाम्रो नेपाली पार्टी सरकारमा सामेल भएपनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ ।

एकीकृत समाजवादीले विश्वासको मत नदिएमा जम्कट्टेलले विश्वास मत गुमाउँछन् । प्रदेशमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् ।  तिनै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

यसैबीच नयाँ सत्ता समीकरणमा रहेका दलका शिर्ष नेताहरुबीच बागमती प्रदेशको विषयमा छलफल गर्न बैठक बसेपनि अनिर्णित भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेश मध्ये एक प्रदेशमा नेतृत्व पाउनुपर्ने, सबै प्रदेशमा सम्मानजनक सहभागिता पाउनु पर्ने माग छ।

सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भाग पाउनुपर्ने माग राखेको बताइएको छ । उनले भागबण्डा स्पष्ट नभए बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी बाध्य नहुने चेतावनी समेत दिएका छन् ।