FLASH NEWS

केन्द्रीय बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ०९:१३ मा प्रकाशित ७८७ पाठक संख्या

काठमाडौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।


कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको  ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।

मंगलबार (वैशाख ४ गते) उक्त ट्रेजरी बिल जारी हुनेछ र यस ट्रेजरी बिलका लागि सोमबार वैशाख ३ दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ ।

यसैगरी ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ ।त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी असोज २९ गते परिपक्व हुनेछ ।

साथै, १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख २ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।