FLASH NEWS

गगन थापाको प्रश्न – प्रहरीले सहकारी ठग्ने रवि र गृहमन्त्री छुट्याउन नसकेपछि अब समिति बनाउन के गर्ने?


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार १७:४९ मा प्रकाशित ४७११ पाठक संख्या

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले प्रहरीले सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री एकै हुन् भनेर नछुट्याएपछि छानविनको लागि संसदीय समिति बनाउने कि नबनाउने भनेर प्रश्न गरेका छन्।


संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन्। उनले भने,‘हामीले संसद्मा सहकारीको रकम अपचलन भएको,अपचलनका बारेमा प्रहरीको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिनको माग गरेका हौँ।’

कांग्रेसले भनेको कुरा अहिले प्रमाणित भएको दाबी गर्दै थापाले थपे,‘हामीले भनेको कुरा हिजो त प्रमाणित भयो। अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्यो,मुद्दा दर्ता गर्दै गर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो, र प्रहरीको अनुसन्धानलाई आधार बनाएर लैजादाखेरी के भन्यो भने कि सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् भन्ने थाहा नभएको हुनाले मैले त्यो अनुसारले प्रतिवादी बनाउन सकिनँ भनेर भन्यो।’

‘प्रहरीले सहकारी ठग रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन भनेर जाँच्ने क्षमता मसँग छैन भनेपछि अब संसदीय समिति बनाउने कि नबनाउने भनेर महामन्त्री थापाले प्रश्न गरे।’

उनले प्रश्न गरे,‘प्रहरीले म सक्दिनँ भनिसकेपछि अब संसदीय समिति बनाएर त्यो कुरा खोज्नुप¥यो कि परेन?त्यो हाम्ले नखोजे कसले खोज्छ?’
थापाले,‘कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधरणले कुनै कुरा गर्दा गल्ति वा अपराध मानेर दन्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा त्यो गल्ति नै हुन्छ।  सर्वसाधरणले सहकारीमा जम्मा गरेको निक्षेप पैसा एक अरव रुपैयाँ लिएर तपाईंले कुनै कम्पनी खोल्नु भयो र त्यो कम्पनी बन्द गर्नुभयो भने तपाईंलाई प्रहरीले समात्छ कि समात्दैन तपाईँलाई अनुसन्धानको दायरमा लिन्छ कि लिदैन प्रश्न यति मात्रै हो।’

उनले थपे,‘त्यो तपाईँले गर्दा लिन्छ भने मैले गर्दा पनि लिनुपर्छ तपाईंले गर्दा तपाईंले सार्वजनिक जग्गा आफ्नो बनाउने हो। तपाईंले गर्दा राज्यले दण्ड दिन्छ कि दिदैन? तपाईंले गर्दा दण्ड दिन्छ भने मैले गर्दा पनि दिनुपर्छ। कानुनको शासन भनेको यहि हो।’