FLASH NEWS

नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाइने


नेपाल आवाज १३ बैशाख २०८१, बिहीबार ०६:५७ मा प्रकाशित २८९ पाठक संख्या

महोत्तरी। राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ ।


नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरुको सहभागीतामा आज भएको उक्त कार्यक्रममा १६ बैसाख देखि सुरु हुने औषधि सेवन  प्रक्रियाको बिषयमा अभिमुखिकरण दिएको हो ।

प्राणघातक नभएतापनी मानिसहरुलाई अशक्त तथा अपाङ्ग वनाउने यो रोगका विरुद्ध हरेक बर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य  खुवाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन । तीन वटै औषधि उचाईअनुसार निर्धारण हुने र उचाई नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

रोग संक्रमणको हिसावले महोत्तरी जोखिममा नै रहेको वताउदै नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले उक्त औषधि निर्धारित मिति देखि हरेक टोल, विद्यालयहरुमा पाईने जानकारी दिए ।

माईक्रोफालेरिया परजिवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई बर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त विरामी र क्षारेरोग भएकाहरुका लागि खुवाउन नमिल्ने स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन ।

बैसाख-२६ गतेसम्म निर्धारण गरिएतापनी आम मानिसहरुको सेवनको दरलाई हेरेर उक्त मितिलाई बढाउन सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ । समुदायमा अभिमुखिकरणको लागि नगरले विभिन्न ठाउँमा स्वयमसेवक समेत परिचालन गरेको छ ।

नगरको ७६ हजार १ सय ४१ जनसंख्या मध्ये ७३ हजारलाई औषधि खुवाउने नगरले लक्ष्य राखिएको छ । जिल्लाको अन्य पालिकाको तुलनामा बर्दिवास नगरपालिकामा लक्षित कुल जनसंख्याको ९६ प्रतिशतलाई खुवाईएको थियो । यो जिल्लाको नै सवैभन्दा बढी प्रतिशत हो ।