FLASH NEWS

गृह मन्त्रालयको निर्देशन – भिआईपीको सुरक्षामा खटिएका बाहेक सवैलाई फिर्ता बोलाउनू


नेपाल आवाज १३ बैशाख २०८१, बिहीबार २२:१५ मा प्रकाशित ६६७ पाठक संख्या

काठमाडौँ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।


उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा यथाशीघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन भनेको छ ।

यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ।