FLASH NEWS

रविविरुद्ध कांग्रेस खनिनु, भँगेरा मार्न तोप बोकेर निस्कनु सरह होः ओली


नेपाल आवाज १० जेष्ठ २०८१, बिहीबार २०:४६ मा प्रकाशित १०४५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्न नहुने बताएका छन् ।


बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने पनि बताए ।

उनले नेपाली कांग्रेसले संसद्‍मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाए ।

उनले कांग्रेस जस्तो पार्टी रवि लामिछानेविरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे । उनले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याइँ गरेको आरोप लगाए। संसद्मा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसद्‌मा बोल्न नहुने बताए।

अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालक उहाँको नागरिकता झुटो भयो, कीर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा नै आए। त्यसको छानबिन सरकारले गर्यो । अदालतलाई भन्यो, यस्तोयस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो। जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि। अदालतले आदेश गरेपछि प्रहरीले समात्यो। यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो ?’