FLASH NEWS

नेपालको खेल हेर्न निजगढ नगरपालिकामा ओइरिए दर्शक


नेपाल आवाज २३ जेष्ठ २०८१, बुधबार १३:५० मा प्रकाशित ६५५ पाठक संख्या

बारा ।  गत राती भएको आईसीसी ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको नेपाल र नेदरल्यान्ड्सबीच खेल हेर्न निजगढ नगरपालिकाले ठूलो स्क्रिनको व्यवस्था गरेपछि नगरपालिका भवनमा दर्शकको ओइरो लागेको थियो ।


त्यस्तै वडा नम्बर ६ को कार्यालय र वडा नम्बर ८ ले बजारको बुद्घचोकमा समेत प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक खेलमा झुम्मिरहेका देखिन्थ्यो ।

निजगढ नगरपालिकाले संचालन गरेको स्थानमा क्रिकेट समर्थको निकै राम्रो भिड देखिएको थियो । दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका थिए ।

यस्तै नगरपालिकाले नेपालको खेललाई सबै वडाले वडाको उपर्युक्त स्थानमा खेलको प्रत्यक्ष प्रशारण खेलप्रेमी नगरवासीलाई देखाउने व्यवस्था मिलाउन पत्रचार समेत गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौंलाले जानकारी दिए ।

नगरपालिकाले गरेको पत्रचार अनुरुपनै निजगढ नगरपालिकाको भवनसहित विभिन्न वडामा ठूला स्क्रिनमा देखाइएको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।

मंगलबार राति भएको आइसिसी टी–२० विश्वकपअन्तर्गत खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको मध्यम योगफल बनाएको थियो । कप्तान रोहितले ३७ बलमा ३५ रन बनाए । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ तथा गुल्सन झाले १५ बलमा एक छक्कासहित १४ रन जोडे ।

प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा १०९ रन जोड्दै जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान गरे । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन ।