FLASH NEWS

१० फागुनमा आईपीओ निष्कासन हुदै


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १६:३२ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले १० फागुनदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।


कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरूको रहेका लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।लगानीकर्ताले न्यूनतममा १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। उक्त आईपीओमा २५ फागुनसम्म आवेदन दिन सकिन्छ। सो अवधिसम्म आईपीओमा पूर्ण आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने ९ चैतसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।