FLASH NEWS

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ


नेपाल आवाज २६ फाल्गुन २०७९, शुक्रबार ०८:०४ मा प्रकाशित ११५३ पाठक संख्या

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


बिहीबार सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमि भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाई छ।