FLASH NEWS

धान खरिदमा लक्ष्य प्राप्त भएन


नेपाल आवाज ५ चैत्र २०७९, आईतवार ११:४६ मा प्रकाशित ११४१ पाठक संख्या

जनकपुरधाम, ५ चैत । प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन ।


नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मुल्य बराबरको ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरिद गरेको छ ।

संघीय सरकारले यसवर्ष सो कार्यालयलाई किसानहरुसँग सोना मन्सुली धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्न निर्देशन दिएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाको प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरुले जग्गा धनिको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागु गरेपछि किसानहरुले झन्झटिलो प्रक्रियाको कारण खाद्य व्यवस्थालाई धान नबेची निजी व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारि रामपुकार मण्डलले बताए ।

अघिल्लो आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको १६ हजार ६६८ क्वीन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानहरुसँग उद्यारोमा धान खरिद गर्दा किसानहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडलाई धान बेच्दा नगदमा रकम आउने गरेको भएपनि यसवर्ष धान विक्रि गर्ने प्रक्रिया झन्झटिलो भएकोले अधिकाश किसानहरु मारमा परेका छन् । जबकि अरु जिल्लामा रहेको सो कार्यालयहरुले एउटा किसानसँग बढीमा ६५ क्वीन्टल सम्म धान खरिद गरेको देखिन्छ । यसवर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।