FLASH NEWS

इम्बोस्ड नम्बर प्लेट नेपालीमा राखिने


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार १५:३८ मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौं – सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । आज (सोमबार) मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सो कामलाई सुरु गरिएको जानकारी दिए । उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अङ्ग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ ।’उपप्रधानमन्त्री श्रेष्ठले सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अव सरकारले यो कामलाई तीव्रता दिने पनि बताए ।