FLASH NEWS

लिग चलाउन एएफसी र फिफासँग पैसा माग्ने एन्फाको निर्णय


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार १३:२३ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी डिभिजन लिग सञ्चालन गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग पैसा माग्ने निर्णय गरेको छ । शनिबार बसेको आकस्मिक बैठकले लिगमा क्लबको तयारी खर्च, जिल्ला लिग र जिल्लालाई फुटबल सामग्री प्रदान गर्नलगायतका ५ शीर्षकमा खर्च गर्न फिफासँग पैसा माग गर्ने निर्णय गरेको हो । एन्फाले विज्ञप्ति जारी गर्दै ‘ए, बी, सी डिभिजन लिग, महिला लिग र जिल्ला लिगलगायतका प्रतियोगिता खर्चका लागि एन्फाले प्राप्त गर्ने अनुदानको विभिन्न शीर्षकबाट रकम निकासाका लागि एएफसी र फिफासँग अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिएको हो । यस्तै एन्फाले सहिद स्मारक बी डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार दिने र बी डिभिजन लिग सञ्चालनका लागि तीन करोड ९३ लाख एक हजार ८१३ अनुमानित खर्च पारित गरेको छ । एन्फाले जिल्लाको कार्यालय सञ्चालन गर्न दुई लाख र फुटबल सामग्रीकाको लागि एक लाख रकम दिने पनि जानकारी दिएको छ । प्रधानमन्त्री श्रीदेशीय फुटबल प्रतियोगिताको पुरस्कार स्वरूप प्राप्त हुने ९ हजार ५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोवास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको छ ।