FLASH NEWS

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदलले कुनै खदिलो परिणाम दिँदैनः पूर्वराजा शाह


नेपाल आवाज २० चैत्र २०७९, सोमबार १७:०६ मा प्रकाशित १६५१ पाठक संख्या

सुनसरी – पूर्वराजा ज्ञानेन्द्र शाहले कसैलाई पद र कसैलाई लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सोमबार सुनसरीको इनरुवामा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले कसैलाई मन, कसैलाई धन र कसैलाई पद दिएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका हुन् ।


उनले स्थिरता र स्थायित्व सही राज्यपद्धती, शान्ति एवं अनुशासन विना हुन नसक्ने बताए । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम नदिने बताए ।

राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताए ।  व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उनको धारणा छ ।

उनले आफूलाई अभिनन्दन भाव प्रकट गरेकामा समर्थकहरूलाई धन्यवाद समेत ज्ञापन गरे । सो क्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । पूर्वराजाको अभिनन्दनका लागि केशरबहादुर विष्टको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ गठन गरिएको थियो।
यस्तो छ पूर्वराजाको सम्बोधनको पूर्णपाठ :

यस्तो छ सम्बोधन:

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदय देखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन ।

निश्चयपनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झीएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस ।

धन्यवाद । जय नेपाल ।

सुनसरी, इनरुवा, चैत्र २०, २०७९