FLASH NEWS

‘कोशी’को आन्दोलनमा ज्यान गुमाएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार ११:३१ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौँ- सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बू(लाजिहाङ)लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।


शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको हो ।

नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्रबाट सहजीकरण गर्नेबारे पनि छलफल भएको छ । ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बू निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो,’ प्रवक्ता शर्माले भनिन्, ‘काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

प्रदेशको नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको विरोध कार्यक्रमका क्रममा घाइते भएको लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए। ४२ वर्षीय लिम्बू २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए। प्रदेश सरकारले उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिएको थियो ।