FLASH NEWS

बर्दिबासमा अतिक्रमित सडक खाली गर्न थालियो 


नेपाल आवाज २७ चैत्र २०७९, सोमबार १७:१० मा प्रकाशित २२६३ पाठक संख्या

महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडा अध्यक्ष पदम आलेमगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।


वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०/१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०÷१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाइ अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक  जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।  ज्यान गुनाउनुको एउटै कारण  ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरुले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामवावु यादव बताउँछन् ।

जिल्लाभरि नै  सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सातदिने सुचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैँ डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।