FLASH NEWS

विभिन्न पक्षका कमजोरीले देशले धेरै दु:ख पायो: पूर्वराजा ज्ञानेन्द्र शाह


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार १९:१४ मा प्रकाशित ३४९३ पाठक संख्या

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशले धेरै दुःख पाएको बताएका छन्।


पूर्वराजा शाहले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै पछिल्लो समय देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा आँच पुगेको बताएका हुन्।

‘हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्,’ पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।’

उनले नेताहरुले विगतमा भएको सहमति तोडेको र त्यो नै अहिलेको बेथिति, अवश्वास, द्वन्द्व र जटिलताको जड भएको टिप्पणी गरेका छन्।

पूर्वराजा शाहले भनेका छन्, ‘राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन। आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो।’

युवापिढीं अहिलेको शासकीय गतिविधिप्रति असन्तुष्ट रहेको पूर्वराजा शाहको भनाइ छ। युवाहरुमा विदोहभाव देखिन थालेको उनले बताएका छन्। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा अर्थहीन आरोप थोपरेर नहुने पूर्वराजा शाहको भनाइ छ। देशलाई जानीजानी बर्बादीतिर नधकेल्न उनले आग्रह गरेका छन्।

पूर्वराजा शाहको शुभकामना सन्देशको पूर्णपाठः

नेपाली दिदी बहिनी तथा दाजुभाइहरु

विक्रम सम्वत २०७९ लाई बिदाइ गर्दै अहिले हामी २०८० मा आइपुगेका छौँ। नयाँ वर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेसमा र देशबाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन। आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो। हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्। त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।

हम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन। सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ। उत्पादन, आर्जन एवं समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो।

युवापिढी, विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ। विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन। त्यसैले अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ। देशलाई थाहा पाइपाइ बर्बादीतिर नधकेलौँ।

नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लागौँ। सबैमा विगतको कमी कमजोरीप्रति क्षमाशील भावना जागोस्। नयाँ वर्ष २०८० शून्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस्, यही हाम्रो शुभेच्छा हो।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल 

२०८० साल वैशाख १ गते