FLASH NEWS

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त


नेपाल आवाज ९ बैशाख २०८०, शनिबार २१:५१ मा प्रकाशित २०११ पाठक संख्या

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ जना मात्र रहे ।


विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।