FLASH NEWS

धादिङको गणेश खोलाको पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध


नेपाल आवाज १८ बैशाख २०८०, सोमबार २३:४७ मा प्रकाशित २३९५ पाठक संख्या

धादिङ- धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल सोमबार भासिँदा राजमार्गमा सवारी आवागमन अवरुद्धभएको छ ।


दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ । ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए ।

काठमाण्डौँ तर्फ जानेले ५ किला-फोगटपुर-बाइरोड सडक, जुङ्गेखोला-बाइरोड, सातकिला-बाइरोड, आठकिला-चिउरीपार्टि हुँदै धार्के र काठमाण्डौँबाट गल्छि तर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ।