FLASH NEWS

भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँडलाई ४ दिन थुनामा राख्न अनुमति


नेपाल आवाज २७ बैशाख २०८०, बुधबार १७:४२ मा प्रकाशित १८६१ पाठक संख्या

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा अदालतले अनुमति दिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।


पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । खाँडलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

यसैबीच,प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने प्रमुख तीन दल माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एमालेमा सहमति भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको हो । तीन दलको बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो जानकारी दिएका हुन् ।

साथै उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको दाबी समेत गरे ।   उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’

यसअघि, तीन शीर्ष नेताको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत पुगेका थिए । ओली र देउवाले गृहमन्त्री श्रेष्ठलाई पनि प्रतिशोधको आधारमा काम गर्न उचित नहुने भनेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले पनि देउवा र ओलीसँग सहयोग गर्न आग्रह गरेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँड पक्राउ परे पनि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै फरार छन् ।

बुधवार एमालेले विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरेको छ भने रायमाझीले आफू बिरामी  रहेको भन्दै संसद् सचिवालयसँग बिरामी बिदा मागेका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेसँग फरार रहेको रायमाझी अहिले कता छन् भन्ने अत्तोपत्तो छैन  ।