FLASH NEWS

प्रधानमन्त्रीलाई राप्रपाको सुझाव : नेताहरूको सम्पत्ति छानबिन र सबै भ्रष्टाचारको फाइल खोल्नुस् !


नेपाल आवाज २९ बैशाख २०८०, शुक्रबार २२:२९ मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छुट दिन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।


आज शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा राप्रपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रघाती र देशद्रोही काम भएको र यसले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालीले शीर निहुराउनुपर्ने अवस्था आएको भन्दै यस प्रकरणमा संलग्नलाई पनि छुट दिन नहुने भन्दै ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिगतको भ्रष्टाचारको छानविनजस्तो गायब गर्ने काम गर्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।

उनले विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरिएको जानकारी दिए । छानबिनलाई दबाब दिनका लागि राप्रपाले सदन र सडकबाट दबाब दिने उनको भनाइ छ ।

राप्रपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय चासोको विषय समेत बनेको नक्कली भुटानी शरणार्थी प्रकरणबाट सरकार पछि नहट्ने भन्दै जोसुकैलाई पनि कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।